तेल अभावले गाडी कटौतीको अवस्था – मुख्य समाचार

गोपाल झापाली
दमक, वैशाख १७/एकमहिना भन्दा लामो अभावका कारण झापामा मागको आधा पनि पेट्रोलियम पदार्थको आपूर्ति हुनसकेको छैन । डिलरहरुले समेत सवारी साधनको ‘रुट दुरी’ तथा संवेदनशीलताका आधारमा तेल बिक्री गरिरहेका छन् । माग अनुसार पेट्रोलियम पदार्थ पाउन नसकेपछि यातायात व्यवसायीहरु भने सवारी साधन कटौती गर्ने अवस्थामा पुगेका छन् ।
पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ पाउन नसके पछि आफूहरु दैनिक सञ्चालन हुने सवारी साधनको सङ्ख्या घटाउने अवस्थामा पुगेको उनीहरुले बताएका छन् । लामो समयसम्म लाईनमा बस्नुपर्ने र नियमित तेल लगाउने पेट्रोल पम्पहरुबाट मात्र पेट्रोल तथा डिजेल पाइने गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद मैनाली पम्पहरुले सवारी साधनलाई बाँडेर तेल दिने गरेको र माग अनुसारको पाउन नसकेको बताउँछन् । कतिबेला कहाँ पुगेर गाडी रोकिने हो भन्ने चिन्ता नमानी सवारी साधन सञ्चालन गर्नु परेको उनले बताए । ‘प्रत्येक पम्पमा १०÷१० लिटर तेल हाल्दै जानुपर्छ’ उनले भने– ‘एउटै पम्पबाट चाहे जति तेल नपाउँदा लामो दुरीका सवारी साधन सञ्चालन गर्न त झनै समस्या भएको छ, कतिबेला गन्तव्यमा पुगिने हो टुङ्गै हुँदैन ।’ नेपालमा बारम्बार नेपाल आयल निगमको घाटा देखाएर पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिए पनि अभाव नहटेकोमा उनको आक्रोश छ । तेल आयात हुने मुलुक भारत र नेपालमा प्रति लिटर २० रुपैयाँसम्मको फरक रहेको उल्लेख गर्दै फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढे आफूहरु पनि सवारी साधनको भाडा बढाउन बाध्य हुने उनले बताए । हाल मेची अञ्चलबाट दैनिक काठमाण्डौका लागि ४० ओटा यात्रुबाहक बस जाने गरेका छन् । यसैगरी नेपालगञ्ज, पोखरा, धनगढी, भैरहवा लगायतका स्थानमा समेत गरी ८० ओटा भन्दा भन्दा बढी यात्रुबाहक बस लामो सेवाका लागि छुट्ने गरेको मेची यातायात व्यवसायी संघले जनाएको छ । झण्डै दुई महिना देखि नै पेट्रोलियम पदार्थ माग अनुसारको पाउन नसकिए पनि अभाव चर्किएको दुईसाता भएको यातायात व्यवसायीहरुले बताएका छन् ।
पेट्रोलियम पदार्थको अभावकै कारण छोटो तथा मध्यम दुरीका सवारी साधन समेत कटौती हुने अवस्थामा पुगेका छन् । नियमित रुपमा तेल हाल्ने गरेका पम्पहरुबाट मात्र डिजेल तथा पेट्रोल पाईने गरेको यातायात व्यवसायीहरु बताउँछन् । कन्काई यातायात व्यवसायी संघका सचिव गंगा सिटौला झापा भित्रका तथा बिराटनगर, धरानसम्मका लागि दैनिक ४ सय जति यात्रुबाहक बस सञ्चालन हुने गरेको बताउँछन् । ति बसहरुले बिहान, साँझ तथा तेल आएको कुनै पनि समयमा लामो समयसम्म लाईन लाग्नुपर्ने गरेको उनले बताए । ‘तेल आएकै समयमा पुगिएन भने त रित्तै पनि फर्कनुपर्छ’ उनले भने– ‘बाहिरबाट आउने गाडी थपिए भने त झनै अभाव चर्कन्छ ।’
पेट्रोलियम पदार्थका व्यवसायीहरुले भने आयल निगमबाट नै माग अनुसार तेल नआएका कारण बजारमा पर्याप्त पेट्रोलियम पदार्थ उपलब्ध हुन नसकेको बताएका छन् । मेची पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष टीकाराम पिठाकोटे निगमलाई अग्रिम भुक्तानी गर्दा समेत माग अनुसारको तेल पाउन नसकिएको बताउँछन् ।
उनले भने– ‘हामीले नै माग अनुसारको तेल पाउन सकेका छैनौं, हामीले पनि भए त बजारमा उपलब्ध नगराउने त कुरै आउँदैन नि ।’ उनका अनुसार मेची अञ्चलमा रहेका करिब ५० डिलर तथा पम्पहरुले मागको आधा पनि पेट्रोलियम पदार्थ उपलब्ध हुनसकेको छैन । निर्माण कार्य बढी हुने अहिलेको समयमा मेचीमा दैनिक ३ लाख लिटर भन्दा बढी डिजेल र डेढ लाख लिटर पेट्रोलको माग हुने गरेपछि करिब आधा मात्र उपलब्ध गराउन सकिएको व्यवसायीहरुले बताएका छन् ।

दाहाल र भट्टराईले गद्धारी गरेको आरोप

दमक, वैशाख १७/एकिकृत नेकपा माओवादीका सचिव सिपी गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले ‘नेपाली क्रान्ति’ र ‘जनयुद्धका योद्धा’माथि धोका दिएको आरोप लगाएका छन् ।
‘जनयुद्ध’का क्रममा नेपाली सेनालाई दुश्मनको रुपमा चित्रित गरेका उनीहरुले आफ्ना योद्धालाई उनीहरुकै अस्तित्वमा बिलिन गराएको उनको आरोप छ । दमकमा शनिबार संयुक्त जनआन्दोलन संघर्ष समितिले गरेको आमसभामा समितिका संयोजक समेत रहेका उनले नेपालमा नयाँ जनवादी क्रान्तिको आवश्यकता औल्याए । क्रान्तिको बाटो भुलेकाहरुले देशमा शान्ति र स्थाईत्व ल्याउन नसक्ने दाबी गर्दै गजुरेलले सच्चा संघीयवादीहरु गोलबन्द हुन आवश्यक रहेको उल्लेख गरे । सोहि कार्यक्रमका अर्का वक्ता नेकपा (माओवादी)का संयोजक मातृका यादवले क्रान्तिको व्याज खाएर नेपाली जनतामाथि राजनीति नगर्न आग्रह गरे । माओवादी पार्टीका पूर्व नेता समेत रहेका उनले शान्ति प्रकृया टुङ्ग्याउन र नयाँ संविधान जारी गर्न बर्तमान सरकार भङ्ग हुन आवश्यकर रहेको उनको जिकिर थियो ।
कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले पहिचान र जातीयताका आधारमा राज्यको पुनर्संरचनासहितको संविधान जारी नगरिए आफूहरुलाई अमान्य हुने बताए ।
क्रान्तिकारी कम्यूनिष्ट पार्टीका महासचिव मणि थापा, माओवादी सभाषद् किरण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माख्खिम, अखिल नेपाल आदिवासी जनजाति महासंघ एकिकृतका नगेन्द्र राई, जनमुक्ति पार्टी नेपालका विश्व आरटीएडी किराती, माले समाजवादीका देवेन्द्र गोतामे, नेकपा एकिकृतका दाचाराज वाग्ले, आदिवासी जनजाति महासंघ समाजवादीका रामसिंह लामा, थारु मुक्ति संग्रामका डा. ललन चौधरी लगायतले संघीय गणतन्त्र स्थापनाको सपना धरापमा पर्दै गरेको बताए ।
एमाओवादीका बिक्रान्तको अध्यक्षतामा सम्पन्न सभामा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्की सचिवालय सदस्य शान्ता योङ्हाङले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङले गरेका थिए ।
फोटो ः आमसभा उद्घाटन गर्दै नेता गजुरेल, लिङ्देन लगायत ।

उच्च मावि बनाउन सहयोग जुट्दै

६ दिनमा १० लाख, १ बिगाहा जग्गा
माहाभारा, वैशाख १७/ गाविसमा नै पहिलो उच्च मा.वि. सञ्चालन गर्न आवश्यक सहयोग रकम जुटाउने उद्देश्यले माहाभारामा सञ्चालित महापुराणमा  १ बिगाहा बढी जग्गा र नगद १० लाख रुपैयाँ सहयोग जुटेको छ ।
वडा नम्बर ३ कुञ्जिबारीस्थित बालकल्याण माविमा उच्च माध्यमिक तहको पठन पाठन सञ्चालन गर्ने उद्देश्यले ६ दिन अघिदेखि सञ्चालित श्रीमद भागवत ज्ञान महायज्ञमा दाताहरुले सो सहयोग प्रदान गरेका हुन् । जग्गा प्रदानको घोषणा गर्नेहरुमा माहाभारा–४  का श्रीप्रसाद राजवंशी, अघोरी राजवंशी र कोरोबारीका श्रीमप्रसाद न्यौपाने रहेका छन् । राजवंशीद्वयले क्रमश १४ कठ्ठा साढे १७ धुर र २ कठ्ठा तथा न्यौपानेले कोरोबारी–४ मा पर्ने ५ कठ्ठा जग्गा प्रदान गर्ने घोषणा गरेका विद्यालयका सह–प्रधानाध्यापक तथा आर्थिक संकलन समितिका संयोजक भोलाप्रसाद खतिवडाले जानकारी दिए ।
सो अवसरमा सुरुङ्गाका व्यवसायी टिका तिम्सिनाले समेत ५१ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका खतिवडाले बताए । त्यस्तै सोही विद्यालयका भूपू विद्यार्थी स्व. विजय कोइराला (पुण्य) को स्मृतिमा उनको परिवारले १ लाख १ रुपैयाँ बराबरको पुण्य स्मृति अक्षयकोष खडा
गर्ने घोषणा गरेका छन् ।
उनका दाजु विष्णु कोइरालाले महायज्ञमा सो घोषणा गरेका हुन् । कोषबाट प्राप्त ब्याज रकम सोही विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीहरुलाई प्रदान गर्ने बताइएको छ ।
नेपाल विकास कोषको सहयोगमा सञ्चालित सो महापुराणमा आचार्य पण्डित सुदर्शन ढुंगेलले कथा वाचन गरिरहेका छन् ।

शिविरको विद्यालयमा आगलागी

मोरङ, वैशाख १७/ मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविर भित्र रहेको शरणार्थी बालबालिका पढ्ने विद्यालयमा शनिबार राति आगलागी भएको छ ।
राति करिब ९ बजे विद्यालयमा आगलागी सुरु भएको हो । शिविर सचिव चम्पसिंह राईले आगलागीको कारण खुल्न नसकेको बताएका छन् । आगलागीबाट स्कूल पूर्णरुपमा जलेर नष्ट भएको छ । आगो निभाउन शरणार्थी, सुरक्षाकर्मी र दमक नगरपालिका तथा इटहरी नगरपालिकाका दमकल खटिएका छन् ।
यो समाचार तयार पार्दासम्म आगो पूर्णरुपमा निभाइ नसकेपनि नियन्त्रणमा आएको सचिव राईले जानकारी दिए ।  हावा हुरी र सुख्खा मौसमसँगै तराई क्षेत्रमा दिनहु जसो आगलागीका घटना दोहोरिन थालेपनि आगो निभाउन भरपर्दो मानिएको वारुण यन्त्रको उपलब्धता सहज हुननसकेको सर्वसाधारणको गुनासो छ ।

समिति बने पनि अनशन रोकिएन

बेलडाँगी, वैशाख १७/भुटानी शरणार्थीहरुको पुनर्दर्ता प्रक्रियाका लागि समिति गठन गरे पनि पाँच दिनदेखि  अनशनमा बसेका भुटानी शरणार्थी महिलाहरुले अनशन तोडेका छैनन् ।
गृह मन्त्रालयले मन्त्रालयका उप–सचिव शम्भुप्रसाद घिमिरेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेपनि अनशनकारीहरुले प्रकृया शुरु भएपछि मात्र अनशन रोक्ने बताएका छन् । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न शनिबार अनशन स्थलमा पुगेको अधिकारकर्मीहरुको टोलीलाई उनीहरुले सो बताएका हुन् ।
नेपाल बार एशोसिएसन झापाका अध्यक्ष टंक उप्रेती, नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक केपी सुवेदी, हुरेक्ड झापाका अध्यक्ष नारायण भट्टराई, ईन्सेक झापाका संयोजक लक्ष्मी निरौला तथा भुटानी शरणार्थी प्रतिनिधी स्वदेश फिर्ती समितिका संयोजक डा. भम्पा राईसहितको टोलीले अनशनकारीको अवस्था गम्भिर भएको भन्दै उनीहरुलाई मानवोचित व्यवहार गर्न आग्रह गरेका छन् ।
अनशनकारी एवम् परिचयपत्र तथा राहत बञ्चित शरणार्थी महिला समूहकी संयोजक दूर्गादेवी विष्टले शरणार्थीको पुनर्दर्ता प्रकृया शुरु भएपछि मात्र अनशन रोकिने बताइन् ।
गृहमन्त्रालयले गठन गरेको समिति’bout जानकारी दिन आयोजित पत्रकार भेटघाटमा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख यज्ञ आचार्यले पुनर्दर्ताका लागि गठित समितिको कार्यालय ३ दिन भित्रमा नैं स्थापना गरिने र प्रकृया शुरु गरिने बताए । उनले शरणार्थी महिलाहरुलाई अनशन स्थगित गर्न समेत आग्रह गरेका छन् ।

एमाले उपाध्यक्षमाथि हातपात

दमक, वैशाख १७/नेकपा एमालेका झापा जिल्ला कमिटी उपाध्यक्ष लोकबहादुर धिमालमाथि एक समूहले हातपात गरेको छ ।
शनिबार राति धिमाललाई दमक १५ चिया दोकान स्थित निवासमै रहेको पसलमा चुरोट किन्न भन्दै आएको समूहले घाँटीमा समाएर हातपात गर्न सुरु गरेका उनका नातेदार दीपक धिमालले बताए ।
सो समूहले हातपात गर्नको कारण थाहाँ हुन नसकेको बताइएको छ । धिमाललाई हातपात गरे लगत्तै उनको परिवार र गाउँलेले सो समूह विरुद्ध प्रतिकार गरेका थिए । सो पछि मोटरसाईकलमा चढी आएका १०–१२ जनाको समूहले धिमालसहित गाउँका अन्य घरहरुमा समेत ढुंगा हान्दै आतंक मच्चाएका स्थानीयबासीले बताएका छन् । इलाका प्रहरी कार्यालय दमकले घटनामा संलग्न रहेका भनिएका तीनजनालाई तत्कालै नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक मिलन भट्टराईले जानकारी दिए ।,

व्युरोमा ९२ जना

उर्लाबारी, वैशाख १७/ बिभिन्न पार्टीमा आस्था राख्ने  ९२ जना युवाहरु एकिकृत नेकपा माओबादी निकट युवा संगठन जनस्वयम्सेवक परिचालन ब्यूरोमा प्रवेश गरेका छन् ।
जनस्वयम्सेवक परिचालन ब्यूरो नगर  समिति उर्लाबारीले शनिबार आयोजना गरेको पार्टी प्रवेश र प्रशिक्षण कार्यक्रमको अवसरमा ९२ जना युवाहरु ब्यूरोमा प्रवेश गरेका हुन् । ब्यूरोका उर्लाबारी नगर अध्यक्ष सुसन लिम्बुको सभापतित्वमा भएको सो कार्यक्रममा नव प्रवेशीहरुलाई प्रमुख अतिथि समेत रहेका कोचिला राज्य समिति सचिवालय वरिष्ठ सदस्य लक्ष्मी पौडेल (विवेक) ले प्रशिक्षण दिएका थिए ।
सोही कार्यक्रममा वडा नं.२ मा बिधान बराल इन्चार्ज र निरज सुब्बा सह–इन्चार्ज, वडा नं. ४ मा सन्तोष शाह इन्चार्ज र संजिव शाक्य सह–इन्चार्ज, वडा नं. ६ मा सूर्य बस्नेत इन्चार्ज र सनम तामाङ सह–इन्चार्ज र वडा नं.७ मा ज्ञानु फागो इन्चार्ज तथा बरिष्ठ सल्लाहकार बिष्णु नेपालीलाई मनोनियन गरिएको छ ।
त्यस्तै भूपाल दर्जीको अध्यक्षतामा रिक्सा मजदुर यूनियन समेत  गठन गरिएको छ । दर्जीको नेतृत्वमा २४ जना रिक्सा मजदुरहरु ब्यूरोमा प्रवेश गरेका छन् । पार्टीका मोरङ क्षेत्र नं. ९ का इन्चार्ज अन्नत राजवंशी, ब्यूरोका मोरङको क्षेत्र नं. १,२ र ९ का कार्यवहाक इन्चार्ज समिर कुईकेल, पार्टीका उर्लाबारी इन्चार्ज प्रेम घिमिरे, सचिव डिल्ली नेपाली, ब्यूरोका उर्लाबारीका बरिष्ठ उपाध्यक्ष राजिव लिम्बू लगायतले बालेका थिए । कार्यक्रम ब्यूरोका उपाध्यक्ष जिवन राईले सञ्चालन गरेका थिए ।

प्रतिष्ठानको नाममा ठगी

दमक, वैशाख १७/दमकस्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको नाम बेचेर ठगी शुरु भएको छ ।  संस्थाको सहयोग रसिद छपाएर बृद्ध आश्रम सहयोगार्थ भन्दै केहि व्यक्तिहरुले ठगी गरिरहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको हुबहु देखिने गरी छपाईएका सहयोग रसिद काट्दै दमकका वडा नम्बर ८, १६ तथा लखनपुरका केहि क्षेत्रमा ठगी भइरहेको पाइएकाले आफूहरु गम्भिर बनेको अध्यक्ष भवानीप्रसाद दाहालले बताए ।
प्रतिष्ठानले तत्कालै बृद्ध आश्रम बनाउने योजना नरहेको कोषाध्यक्ष सीताराम खतिवडाले जानकारी दिए । कसैले प्रतिष्ठानको नाममा सहयोग माग्न आए सत्य–तथ्य बुझेर मात्र सहयोग दिन उनले आग्रह गरे ।

सशस्त्र प्रहरी पकली फाइनलमा – खेल समाचार

लखनपुर, वैशाख १७/झापाको लखनपुरमा जारी नवौँ एसवाइसी च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा भारतको सिलीगुढीस्थित सूर्यकिरण फ्रेन्ड्स क्लबलाई हराउँदै सशस्त्र प्रहरी पकली फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्रले बेस्ट अफ फाइभमा सिलिगुढीको फ्रेन्ड्सलाई २५–२०, १८–२५, २३–२५, १९–२५ र १५–८ को अन्तरले हराएको थियो । निकै प्रतिष्पर्धात्मक सो खेलको अन्त्यतिर फ्रेन्ड्सका खेलाडी अतुल सिंहलाई एम्पायर विनय राईले खेल मर्यादा उल्लंघन गरेको भन्दै ‘पहँेलो’ कार्ड दिएका थिए । दुवै टिम २०६७ सालको क्लबले सञ्चालन गरेको सातौँ संस्करणको फाइनल खेलमा समेत प्रतिष्पर्धा हुँदा सशस्त्र विजयी भएको थियो । दुवै टिममा आधा बढी राष्ट्रिय खेलाडीहरु सहभागी थिए ।
आईतबार हुने सेमिफाइनलको अन्तिम खेलमा समूह ‘बी’ बाट फाइनलको लागि भगवान ब्रदर्श बिर्तामोड र लिम्बुवान मुक्ति मोर्चाको ‘ब्’ टीमबीच हुने  आयोजक सगुन युवा क्लवका अध्यक्ष गणेश आङ्देम्बेले जानकारी दिए । गत वैशाख ९ गतेदेखि सञ्चालन भएको सो प्रतियोगिताका विजेता, उप–विजेताले क्रमश १ लाख र ५० हजार नगद र ट्रफी पाउने छन् । फाइनल वैशाख १८ गते हुने आयोजकले जनाएको छ ।
शनिबार नै क्लबले आयोजना  गरेको साङ्गीतिक कार्यक्रममा कलाकार दमन रुपाखेती,  शेखर खनाल र गायक तिलक बम मल्लले प्रस्तुति दिएका थिए ।

मैत्रीपूर्ण फुट्बल खेल

कुञ्जिबारी, वैशाख १७/ नयाँ वर्ष २०६९ को अवसर पारेर माहाभारा–४ र ५ बीच आज मैत्रीपूर्ण फुट्बल खेल हुँदैछ ।
वडानम्बर ४ स्थित बालुवाडीको खेलमैदानमा सो खेल हुने वडानम्बर ५ का टेकराज लिम्बू (मन्त्री) ले जानकारी दिए । 
प्रतियोगिताको बिजेता टिमले ५ हजार रुपैयाँ पुरस्कार हातपार्ने बताइएको छ । दुई वडाका युवाहरुबीच आपसी सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले समेत सो कार्यक्रम आयोजना गरिएको लिम्बूले बताए ।