ओस्कारले देखाएका पछिल्ला संकेत – रङ्ग रेखा

श्री कृष्ण न्यौपाने
सन् १९२९ जतिबेला सिनेमा सुरु भएको केहि दशकमात्रै हुदै गर्दा एकेडेमी अवार्डको नाममा सिने विधालाई प्रोत्साहन गर्न ओस्कार अवार्डको स्थापना गरिएको थियो । त्यो निरन्तरताले एक शताब्दी पार गर्नै लाग्दा ओस्कारको महत्व र उदारता झनै दिन प्रतिदिन फराकिलो बन्दै गएको छ । यसमा कसैको शंका नै छैन । फ्रान्सेली राष्ट्रपति निकोलश सार्कोजीसमेत यसको प्रतिष्ठा देखेर औधी लोभिएका छन् । सन् १९२९ को मे १६ तारिखमा हलिउडस्थित रुजबेल्ट होटलमा पहिलो पटक ओस्कार अवार्ड वितरण गरे यता पछिल्लो ८४ औं संस्करणसम्म आईपुग्दा ओस्कारको दायरा फराकिलो मात्रै भएको छैन । सहिष्णु पनि लाग्न थालेको छ । कुनै बेला हलिउडका सिनेमाको अधिपत्य रहदै आएको ओस्कारमा यसपाली भने परिणाम नसोचेको देखियो । सिने पण्डितहरुको आकलन र अनुमानले पनि यसपाली मात खाएको छ । ओस्कारलाई एउटा आरोप थियो उसले हलिउडका सिनेमालाई मात्रै प्राथमिकतामा राखेर अवार्ड बाढ्ने गर्छ । तर गत महिना वितरण  गरिएको अवार्डलाई आधार मान्ने हो भने ओस्कार फराकिलो हुन चाहन्छ अवार्डका माध्यमबाट विश्वका सिनेमा संजालमा अझै केहि सताब्दी एक नम्बर भएर राज गर्न चाहन्छ । फिल्म क्षेत्रकै सबै भन्दा पुरानो र प्रतिष्ठित मानिएको ओस्कार अवार्डको ८४ औं सस्करणमा फ्रेन्चद्वारा निर्मित दी आर्टिस्टले विभिन्न ५ वटा विधामा उपाधी हात पारेपछि ओस्कारको सहिष्णुताप्रति अहिले बहश हुन थालेका समाचार प्रकाशित हुन थालेका छन् । एउटा बेरङ्ग र आवाजविहिन चलचित्रले पाएको अवार्डले कलात्मक चलचित्र बनाउनेलाई हौसला मिलेको छ । नेपाली चलचित्र निर्देशक प्रकाश सायमीले ओस्कारको पछिल्लो निर्णयले साना मुलुकका सिनेमाकालागि पनि ढोका खुलेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार अमेरिकाको सम्राज्य नीति अनुरुप ओस्कार पनि सांस्कृतिक साम्राज्य फैल्याउन खोज्दै छ ।

 अमेरिकाको लस एञ्जल्समा सम्पन्न भव्य समारोहमा सम्वादरहित सिनेमा दि आर्टिस्टलाई उत्कृष्ट चलचित्रकारुपमा घोषणा गरिदा सबैले जिब्रो टोकेका थिए । किनकी उनीहरुका अनुसार अनपेक्षित चलचित्र दि आर्टिस्टले अवार्ड जितेको थियो । उत्कृष्ट सिनेमासहित उत्कृष्ट अभिनेता, निर्देशक, पोशाक डिजाईनसहित मुक चलचित्र दि आर्टिस्टले उत्कृष्ट हुने मौका मात्रै पाएको छैन अन्य मुलुकका प्रयोगवादी चलचित्रकालागि बाटो पनि खोलिदिएको छ । चलचित्रका निर्देशक मिखेल हाजानाभिक्सअसले उपाधी थापेको सुन्नासाथ राष्ट्रपति निकोलस सार्कोजीले ट्विटरमा खुसी हुदै ओस्कार अवार्डले सम्पूर्ण फ्रान्सेलीलाई गौरवान्वित भएको टिप्पणी गरेका थिए । सन् १९०२ मा फ्रान्सेली नागरिक लुमिअर ब्रदर्सले अहिलेको मुभीको सुरुवात गरेको गौरवपूर्ण इतिहास बोकेको फ्रान्सले ओस्कार अवार्डलाई समेत कति महत्व दिएको छ भन्ने तथ्यलाई राष्ट्रपति सार्कोजीको अभिब्यक्तिले पुष्टि गरेको छ । ओस्कार अवार्ड प्रतिष्ठान , यहि महिमा र श्रद्धालाई कायम गर्न हुन सक्छ उ चौडा छाती बनाएर थप उदार हुने ध्याउन्नमा देखिन्छ । यसले विश्वभरका सिनेकर्मीलाई थप हौसला दिएको छ । निर्देशक केपी पाठक भन्छन् – ”ओस्कारले गरेको निर्णयमा हामी अहिलै उफ्रि हाल्ने समय आईसकेको छैन तर यो भन्दैमा हामी त्यो स्थानमा पुग्नै सक्दैनौ भने होइन” । ”छिमेकी मुलुक भारतको प्रभावबाट मुक्त नभईञ्जेल हामी केहि गर्न सक्ने छैनौं यसकालागि दर्शक पनि त्यो प्रभावबाट मुक्त हुन आवश्यक छ ”, उनले भने ” सिनेमा हल पस्दै नेपाली दर्शक हिन्दी सिनेमाको एस्पेक्टेसनमा नेपाली सिनेमा हेर्ने भएकाले पनि नेपाली सिनेकर्मी बाध्य छन् त्यस्तै सिनेमा बनाउन ” ।

पहिलो पुरस्कार पाउने जर्ज सिङ्गरदेखि दि आर्टिस्टसम्म आईपुग्दा झण्डै कुल ३ हजारले यो पुरस्कारको स्वाद चाखिसकेका छन् । हिजोसम्म कसैले थाह नपाएका चलचित्र र कलाकार अवार्ड पाए लगत्तै रातारात चर्चामा आउने भएकाले पनि ओस्कारको महिमा भनिसाध्य छैन , सिनेप्रेमीकालागि । एकेडेमी अवार्डका झण्डै ६ हजार सदस्यले दि आर्टिस्ट लाई सर्वोत्कृष्ट सिनेमा घोषणा गरेपछि यूरोप र अमेरिका बाहिरका सिनेकर्मी पनि अवार्डसम्म पुग्ने पहूच बलियो बन्दै गएको बुझ्न थालेका छन् ।